इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरू बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।
सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खाएर सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोड्नु) गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । ३० दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ ।
पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् । रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ ।