Media Network

नामाकरण टुंगो लगाउन प्रदेश १ मा सर्वदलीय बैठक


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

बिराटनगर । सबै प्रदेशको नामाकरण भइसक्दा पनि नाम टुंगो लगाउन नसकेको प्रदेश १ मा त्यसै विषयमा छलफल गर्न आज सर्बदलीय बैठक बस्दै छ । 

२ नम्बर प्रदेशलेसमेत नाम टुंगो लगाइसकेपछि प्रदेश १ सरकारले पनि नामाकरण गर्न कस्सिएको हो । 

प्रदेश १ सरकारले नामकरणको मुद्दालाई उच्च प्राथमिकतामा राख्दै जसपाका नेता एवम् स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा सर्वदलीय समन्वयका लागि समिति पनि गठन गरेको छ । यादव नेतृत्वको समितिको अगुवाइमा मंगलबार सर्वदलीय बैठक बोलाइएको छ । 

एकल पहिचान कि बहुपहिचानमा आधारित भन्नेमा दलहरुबीच विवाद छ । प्रदेश १ मा किराँत तथा लिम्बु समुदायले सोही जातीय पहिचानको माग गर्दै आएका छन् । सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र, जसपा भने एकल पहिचानको पक्षमा रहेको छ भने एकीकृत समाजवादी बहुपहिचानको आधारमा नामाकरणमा जोड दिएको छ । 

९३ सदस्यीय प्रदेशसभामा एमाले सांसद सभामुखसहित ४१ जना छन् ।  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना छन् ।

संविधान अनुसार प्रदेश नाम राख्न दुई तिहाइ मत आवश्यक पर्छ । छलफलका क्रममा किराँत, लिम्बुवान, कोशी, सगरमाथा, विराट तथा बिजयपुर जस्ता नामहरु आएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद