नवरात्रको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड


खबरस्टोरी संवाददाता
२६ आश्विन २०७८, मंगलवार
नवरात्रको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ। नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । 
 
बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । सामान्य शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो ।

 राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत मन्दिरमा भक्तजनको भीड छ ।

 यसैगरी उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ । 
 
नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । गतवर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गादेवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो । यसवर्ष भने कोरोनाको जोखिम कम भएको र धेरै मानिसले कोरोना विरुद्ध खोप लगाएकाले भौतिक दूरी कायम गरी देवी मन्दिरलगायत मठ मन्दिर खुला गरिएको छ ।