Media Network

न्यायाधीश साह पदबाट बर्खास्त


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

काठमाडौं । उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गरिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा तीन वर्षभन्दा बढी समयदेखि मुद्दा छिनाफानो गर्दै आएकी साहलाई शुक्रबार बसेको न्यायपरिषद् बैठकले योग्यता नपुगेको भन्दै बर्खास्तीको निर्णय गरेको हो । 

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । न्यायाधीश साहले शुक्रबार पनि सवारी ज्यान र सवारी अंगभंग मुद्दामा जिल्ला अदालतको फैसला केही उल्टाउँदै फैसला गरेकी थिइन् ।

हालका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले साहलाई २०७५ चैत १९ मा उच्च अदालतमा नियुक्तिको सिफारिस गरेको थियो ।  

साह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । उनीविरुद्ध योग्यतामा प्रश्न उठाउँदै उजुरी परेको र अध्ययन गर्दा साहको वकालत गरेको समय १० वर्ष नपुगेका कारण बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । उच्च अदालतको न्यायाधीश नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा कार्यरत रहेको हुनुपर्ने कानुनी प्रावधान छ । 

न्यायपरिषद्का सदस्यहरू तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव, तत्कालीन वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, रामप्रसाद सिटौला र सदस्य सचिव देवेन्द्रराज ढकाल रहेको बैठकले साहलाई न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद