Media Network

पाँच जना मृत भेटिए, चट्याङ लागेर बालकको मृत्यु


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं । देशका विभिन्न ठाउँमा मंगलबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । एक महिला सहित पाँच जना मृत भेटिएका हुन् । 

मकवानपुरको हेटौडा, कञ्चनपुरको भीमदत्त, नवलपुरको कावासोती, बुटवलको तिनाउ नहर र सल्यानको कपुरकोटमा गरी पाँच जना मृत फेला परेको प्रहरीले जनाएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडा घर भई हाल हेटौंडा उपमहानगरपालिका–३ सरस्वती टोलस्थित च्याउ फार्ममा काम गरी बस्ने २७ वर्षीय सानु कान्छा बम्जन हेटौंडा उपमहानगरपालिका–३ स्थित हाँडीदह खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुर फुलबारी चोकस्थित गोल्डेन ब्रिज बोडिङ स्कुलको छतमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २२ वर्षीय प्रेम सिंह धामी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका–२ भाटटोल बस्ने ८२ वर्षीय जीतबहादुर कानुमगर सोही ठाउँस्थित शिव माविको कम्पाउण्ड बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् । कावासोती बजार जान्छु भनी सोमबार बिहान हिँडेका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

यस्तै, रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–५ तिनाउँ नदी नहरको कुलोमा भारत गोरखपुर बस्ने १७ वर्षीय पुजारी भन्ने सनी कुमार मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यता, सल्यानको कपुरकोट गाउँपालिका–५ बुढाटोल बस्ने ४८ वर्षीया साबित्री कुमारी बुढा आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

चट्याङ लागेर मृत्यु 

यसैबीच, गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ् नेपाने बस्ने गुञ्जनमान विष्टको छोरा १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लागेर अशक्त भएका उनको मदाने मालिका पोलीक्लिनिक पुर्कोटदह हुँदै जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद