कोषले गेटमै सूचना टाँसेर होटलमा भएका सामग्री नचलाउन जानकारी गराएको विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए। ‘हामीलाई भित्र छिर्नै दिइएन, हामीले गेटमै ताल्चा लाएर फर्कियौं,’ उनले भने।
पशुपति क्षेत्र विकास कोष तथा होटल आनन्दबीच भएको सम्झौताअनुसार काम नभएको भन्दै कोषले गत चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन।
गएको सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सञ्चालन गरेको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो। सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ। पशुपतिस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको गएको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ।
कोषका कोषाध्यक्ष सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालिसँगको सम्झौता खारेजको सुझाव दिएको थियो। (रासस)