Media Network

पशुपतिमा महाशिवरात्रिकाे चहलपहल (फोटोफिचर)


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

काठमाडाैं।  आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका  शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । 

हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम  रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाइरहेका छन् । यस उपलक्ष्यमा पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको ठूलो भीड लागेकाे छ । 


दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुला गरिएकाे छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् ।


१० लाखले पशुपति दर्शन गर्ने आँकलन, यस्ताे छ व्यवस्थापन

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार  महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् ।  एकैदिन १० लाखलेभ पशुपति दर्शन गर्ने आँकलन गरिएकाे छ ।


दर्शन गर्न रुट मिलाइएकाे छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको काेषले जनाएकाे छ ।


दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद