काठमाडौँ । विगत ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्षको जनवरी १ देखि सो नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएको हो । यस स्थानमा चीनले बेलिब्रिज जडान गरी बेलिब्रिजसँगै नाका पनि सञ्चालनमा आएको हो ।
सो नाका हुँदै चीनबाट सामान आयातका लागि कन्टेनर पठाउन थालिएको छ । विहीबार बिहानैदेखि नेपालबाट खाली कन्टेनर चीनतर्फ पठाउन थालिएको र चीन तर्फबाट पनि कन्टेनर आउने क्रममा रहेको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएपछि उक्त नाका ठप्प थियो ।