पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले समानुपातक उम्मदवारको सूची बुझाउँदा तयारी गर्ने समय नपाएका कारण कमजोरी भएकाले सच्याउने जानकारी दिएका हुन् । आफ्नो पार्टी विधिभन्दा बाहिर नजाने दाबी पनि उनले गरेका छन् ।
सभापति लामिछानेले पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भएका छन्, ती छोटो समयमा निर्णय गर्दा तयारी नपुगेको स्वीकार गरेका छन् ।
उनले ऊर्जामन्त्री कुलमान घिसिङसँग पार्टी एकता गर्दा हतारमा सूची बुझाउनु परेकोले ध्यान दिन नपाएको पनि प्रष्टीकरण दिएका छन् । रास्वपाले उद्योगी, ब्यवसायीदेखि विभिन्न स्वार्थसँग जोडिएका ब्यक्तिलाई समानुपातिक उम्मेदवार बनाएपछि आलोचना भएको हो ।
लामिछानेले आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको जिकिर पनि गर्दै विधि भन्दा बाहिर जानेलाई विधानमै ‘राइट टु रिकल’ (फिर्ता बोलाउने) व्यवस्था रहेको पनि बताएका छन् । पार्टीमा बोक्नुपर्ने एक जना पनि मान्छे नरहेको उनको दाबी छ ।