रवि–बालेनको मिलनमा हर्षको कटाक्ष


खबरस्टोरी संवाददाता
१३ पुष २०८२, आईतवार
रवि–बालेनको मिलनमा हर्षको कटाक्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन् ।

आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सम्झौताको कटाक्ष गरेका हुन् ।

उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले ‍रवि लामिछानेसँग सम्झौता गरेको आरोप लगाएका छन्।

‘सहकारी काण्डदेखि विभिन्न प्रकरणमा तानिएका, एमसीसीजस्ता विषयमा तयारी गर्नेहरूसँग मिलेर सत्ता र कुर्सीका लागि, देशलाई विदेशीका हातमा लिलाम गर्न तयार हुने व्यक्ति को हो ? आज विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौं। त्यसलाई संस्थागत गर्न लुकेर बस्ने त्यो व्यक्ति को हो भनेर तपाईंहरूले पनि अनुमान गरिसक्नुभएको होला ।’–,’ उनले भनेका छन् । 

धरानका मेयर साम्पाङले काठमाडौंका मेयर बालेनमाथि जेनजी पुस्तालाई उक्साएर आन्दोलनमा भिड्न पठाइएको र सैयौं मानिसहरू घाइते र देश जलेर खरानी हुने अवस्थासम्म पुग्दा पनि लुकेर बसेको आरोप पनि लगाएका छन्।  

‘त्यो व्यक्ति भने भित्रै लुकेर बस्छ, टुलुटुलु हेरिरहन्छ, मुसुमुसु हाँसिरहन्छ। बाहिर निस्कने साहस गर्दैन। जेन्जीले सरकारलाई दबाब दिन बोलाउँदा पनि ऊ निस्कँदैन। तर भित्रै बसेर विदेशी शक्तिको सेटिङमा फलाना यस्तो, ढिकाना उस्तो भन्दै आफ्नो मनपरीको सरकार बनाउने खेल खेल्छ,’ साम्पाङले भनेका छन् ।

त्यसरी बनेको सरकारले एक थान चुनावबाहेक जेनजी आन्दोलनका कुनै पनि मागहरू सम्बोधन नगरेको मेयर साम्पाङको आरोप छ । बरू उल्टै सरकारले जेनजीमाथि धरपकड गरेको उनले बताएका छन् ।