सुदूरपश्चिम प्रदेशमा रास्वपालाई ‘लोटरी’


खबरस्टोरी संवाददाता
१७ पुष २०८२, बिहीबार
सुदूरपश्चिम प्रदेशमा रास्वपालाई ‘लोटरी’

धनगढी । २०७९ सालको प्रदेश सभा निर्वाचनमै भाग नलिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा एक सांसद प्राप्त गरेको छ ।   

निर्वाचन भएको ३७ महिनामा प्रदेशको चुनाव नै नलडेको रास्वपाको सुदूरपश्चिम प्रदेश सभामा  एक सिट कायम भएको हो । २०७९ सालमा स्वतन्त्रबाट निर्वाचित सदस्य डा. ताराप्रसाद जोशी उज्यालो नेपाल पार्टी प्रवेश गरेका थिए । उनेपा रास्वपासँग समाहित भएसँगै रास्वपाले प्रदेशमा सित्तैमा एक सांसद पाएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारमा डडेलधुराबाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य डा. जोशी सरकारको खेलमा पनि निर्णायक भूमिकामा थिए । 

जेनजी आन्दोलनपछि विभिन्न पार्टीहरुबीचको एकता र ध्रुवीकरण हुने क्रममा सुदूरपश्चिम प्रदेश सभामा नेकपाको २२ सिट पुगेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बन भएकाले अहिले २१ सिट छ । ५३ सदस्यीय प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १८, नेकपा एमालेको ११, राप्रपा र स्वतन्त्रको एक एक सदस्य छन् ।