Media Network

सुदूरपश्चिम सरकारको बजेट पारित


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभामा बजेट माथिको छलफल सकिएपछि बुधबार राति ८ ः ४५ बजे बसेको दोस्रो बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो ।

आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आ.व. २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अवरुद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरु भएको थियो ।

सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद