Media Network

सवारीमा जोर बिजोरले मान्छेको चाप घटेन, विकल्पबारे छलफल


खबरस्टोरी संवाददाता

१३ माघ २०७८,बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि नागरिकको चाप घटाउन भन्दै सवारी साधन सञ्चालनमा जोरबिजोर लागू गरिए पनि चाप घटेको छैन । 

सवारी कम चलेपछि दैनिक कार्यालय आउजाउ गर्नेदेखि बजार आउने मान्छेको भिड सार्वजनिक सवारीमा झनै बढी हुन थालेको छ । 

कोरोना संक्रमण फैलिन नदिन २५ जना भन्दा बढी भेला हुन नपाउने बाहेक अन्य कार्यालय तथा ब्यवसाय बन्द नगरिएपछि सार्वजनिक सवारीमा झनै भीँड बढेको छ । 

काठमाडौं उपत्यकामा माघ ८ गतेदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जोर गतेका दिन जोर नम्बरको गाडी र बिजोर गतेका दिन विजोर नम्बरको गाडी सञ्चालन गर्ने भनिएपछि सडकमा झण्डै ४० प्रतिशत सवारीको चाप भने घटेको छ । 

तर सवारी सञ्चालनमा जोर बिजोर लागू गरेर मानिसको झनै चाप बढेको भन्दै आलोचना भएपछि विकल्पबारेमा छलफल गर्न लागिएको छ ।  

काठमाडौं उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु शुक्रबार अन्य विकल्पबारे छलफल गर्न लागेका छन् । 

सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझावअनुसार थप निर्णय लिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । 

सवारीमा जोर बिजोर लागू गरेर सडकमा यातायातको चाप कम भए पनि बजार, अस्पताल लगायतका सार्वजनिक स्थलहरुमा भने मानिसको चाप उस्तै छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद