Media Network

तुइन चुडिएर फेरि अर्का युवक महाकालीमा बेपत्ता


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका– २ दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदी पार गर्न खोज्दा तुइन चुडिएर नदीमा बेपत्ता भएका छन् । 

यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । धामी बेपत्ता भएको एक वर्ष नबित्दै सोही वडाका अर्का युवक पनि तुइन चुँडिएर महाकालीमा बेपत्ता भएका हुन् । 

बुढाथोकी भारतीय बजारबाट नुनतेललगायत दैनिक उपभोग्य खाद्यान्न लिएर फर्किँदै गरेका बुढाथोकी बल्लुजुडीस्थित तुइन बाँधेको रूख नै भाचिँदा महाकालीमा खसेर हराएका हुन् । सदरमुकाम खलंगाको महेन्द्र नमुना माविमा पढ्ने सचिन एसइई दिएर गाउँ गएका थिए । 

उनीसँगै वडाध्यक्ष धीरनसिंह बुढाथोकी पनि किनमेल गरेर फर्किएका थिए । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर राजेश शाहीले दुम्लिङ प्रहरी चौकीको टोली स्थानीयसँग मिलेर बेपत्ता युवकको खोजीमा जुटेको बताए ।

स्थानीयहरू दैनिक उपभोग्य सामानका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ । 

विगतमा भारतीय बजार आउजाउ गर्न हाल तुइन रहेकोभन्दा केही माथि काठको अस्थायी पुल थियो । तर, कोरोनाकालमा एसएसबीले उक्त पुल भत्काइदिएपछि स्थानीयले यसैपालि बल्लुजुडीमा तुइन लगाएका थिए । 

गत वर्ष जयसिंह धामी बेपत्ता भएको मालघाटमा भने नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद