टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२० पुष २०८२, आईतवार
टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आइतबार सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि चार जनाको दुर्घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । गाडीमा ९ जना सवार रहेका थिए । 

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले सुमोमा सवार घाइते र मृतकको उद्धार गरेको थियो ।