Media Network

उपसभामुख निर्वाचन : गठबन्धनकी भुसालको जित पक्का,यस्तो छ अंक गणित


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन गर्न शुक्रबार निर्वाचन हुँदैछ। 

लामो समयदेखि रिक्त रहेको उपसभामुख पदका लागि प्रतिनिधिसभाको अवधि ५ महिना बाँकी छँदा निर्वाचन हुन लागेको हो ।दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख चयन प्रक्रिया सुरू हुनेछ।

उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन्।गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने नेकपा(एकीकृत समाजवादी) की लक्ष्मी चौधरी समर्थक छन्।

त्यस्तै प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवार भट्टराईको प्रस्तावक एमालेकै शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।

प्रतिनिधिसभामा गठबन्धनको स्पष्ट बहुमत रहेकोले भुसालको जित लगभग निश्चित छ।संसदको अंक गणितको हिसाबले सत्ता गठबन्धनको पल्ला भारी रहे पनि एमालेले राजनीतिक उपस्थितिका लागि उम्मेदवारी दिएको देखिन्छ।

प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, नेकपा (एकीकृत समाजवादी) पार्टीका २३, जनता समाजवादी पार्टी (जसपा) का २१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १३ र अन्य साना दल तथा स्वतन्त्र गरी ४ सांसद छन्।सत्तारुढ पाँचदलीय गठबन्धनँग १५५ मत छ।

१३ सांसद रहेको लोसपा उपसभामुख निर्वाचनमा सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी दलका उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने यसबारे निर्णय गरिसकेको छैन। यसका लागि दिउँसो २ बजे लोसपा संसदीय दलको बैठक बस्दैछ।

यसअघिका केही राजनीतिक घटनाक्रमहरू लोसपा एमालेसँग नजिक देखिएको थियो। तर, पछिल्लो समय सत्ता गठबन्धन खासगरेर नेपाली कांग्रेससँग निरन्तर संवादमा छ।त्यसैले उपसभामुखकी उम्मेदवार भुसालले लोसपाको समेत साथ पाउनसक्ने अनुमान गरिएको छ। लोसपाले साथ दिएको खण्डमा उनका लागि त्यो मत बोनस हुनेछ।

लोसपाले प्रमुख प्रतिपक्षी दल एमालेलाई सहयोग गरेको अवस्थामा पनि सत्ता गठबन्धनकै पल्ला भारी देखिन्छ।लोसपा तटस्थ बसे पनि उपसभामुखमा निर्वाचित हुने भुसाललाई गठबन्धनकै मत पर्याप्त हुनेछ।

पद रिक्त भएको दुई वर्षपछि उपसभामुखका लागि निर्वाचन हुन लागेको हो। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद