उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे चुनाव हुँदैछ।ऋाज मात्रै सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छन्।
संसद सचिवालयले बिहीबार दिउँसो ११ बजेदेखि १ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकेको थियो ।
उक्त समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ।उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छिन्।
त्यस्तै भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। एमालेले गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धाको निर्णय लिएको हो।
०७६ सालदेखि उपसभामुख पद खाली छ। बुधबार आयोजित प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि मिति घोषणा गरेका थिए।
पुष्पा भुसाल?
कांग्रेसकी समानुपातिक सांसद रहेकी पुष्पा भुसाल अर्घाखाँचीकी हुन्।
भुसाल २०७० मा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्।
उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न थिइन्।
उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्।
उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्। २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ।
विद्या भट्टराई?
एमालेकी विद्या दिवंगत नेता रविन्द्र अधिकारीकी पत्नी हुन्।तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म बनेकी थिइन्।
रवीन्द्र अधिकारीसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिएकी थिइन्।
स्व रवीन्द्र र विद्या दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका थिए ।पछिल्लो समय उनी आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन्।
रवीन्द्रको निधनपछि शीर्ष नेताहरुकै आग्रहमा उनी कास्की–२ बाट उपनिर्वाचनमार्फत निर्वाचित भएकी हुन्।