Media Network

ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा भएको उनीहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटन आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिईन् । उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याईन । 

जलविद्युत विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “नेपाल जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिन । 

त्यस अवसरमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिँदै नेपालसँग सहकार्य गर्न सकिने बताईन । उनले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताईन । नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद