Media Network

विनोद पहाडीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।  

संविधानसभा सदस्य (२०६४–६९) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने छ ।

तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ परेका श्री विनोद पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसकेका छन् ।

पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । विभिन्न सञ्चारमाध्यममा आवद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल ( २०५३–५८) सभापति रहिसकेका छन् ।

दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान-अध्ययन कार्यमा समेत योगदान गरेका छन् । उनि  लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकार संस्थाहरुमा पनि क्रियाशील छन्  ।

अभियानकै क्रममा पहाडीले ब्रिटेन, फ्रान्स, जापान, स्विजरल्याण्ड, साउथ अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा, केन्यासहित १९ देशको भ्रमण गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद