Media Network

विप्लवको विद्यार्थी संगठनमा पनि विवाद सुरु


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौ । स्थानीय निकायको निर्वाचमा पार्टीको सहभागितालाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुको विवादसँगै पार्टीको तल्लो निकायसम्म विवाद सल्किन थालेको छ ।

चुनाव उपयोगको पक्षमा उभिएको संस्थापन (विप्लव–प्रकाण्ड) पक्ष र विरुद्धमा उभिएको अर्को खेमाबीच विवाद बढिरहेका बेला मातहतका कमिटी र जनवर्गीय संगठनहरुमा कित्ता छुट्टिन थालेको हो ।

विप्लवले चुनाव उपयोगको विपक्षमा उभिएका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ माथि कारवाहीको घोषणा गरेका थिए । कपिलवस्तु बैठकदेखि चर्केको विवाद उत्कर्षमा पुगेका बेला एकाएक दुई नेता कारवाहीमा परेपछि विप्लव समूह विभाजनको डिलमा पुगेको छ । त्यसको प्रभाव तल्ला कमिटी र जनवर्गीय संगठनहरुमा समेत देखा पर्न थालिसकेको छ ।पार्टी केन्द्रको विवादले सो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा पनि विभाजनको रेखा कोरिएको छ । वली र बाँस्तोलामाथि कारवाहीको डण्डा बर्साउने विप्लवको कदमको समर्थन र विरोधमा वक्तव्यवाजी हुन थालेका छन् । हिजो क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले विप्लवको कदमको समर्थनमा निकालेको विज्ञप्तिविरुद्ध आज महासचिव, सचिव र कोषाध्यक्षले काउण्टर दिएका छन् ।

महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपा बूढा मगरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विपरित स्थानीय चुनावमा जाने निर्णय र दुई शीर्ष नेतामाथिको कारवाहीको विरोध गरेका छन् ।

‘सहिदहरुको सपना पार्टी÷आन्दोलन र क्रान्तिभन्दा ठूलो ठान्दै दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णय विपरित लहसिएर पार्टी फुटाउन उद्धत भइ कमरेड विप्लवद्वारा पार्टीका सचिवालय सदस्यद्वय क. धमेन्द्र बाँस्तोला र क. हेमन्तप्रकाश वलीमाथि गरिएको कथित जिम्मेवारीमुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारवाहीले हामी स्तब्ध भएका छौँ’, विज्ञप्तिमा भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद