वीरगञ्ज । धार्मिक एवं सामाजिक सद्भाव भड्किन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै स्थानीय प्रशासनले सोमवार दिउँसोदेखि वीरगञ्जको विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । स्थानीय राजनीतिक दलहरुले अपिल गरेका छन् । तर पनि दुई समुदायबीचको तनाव मत्थर नभएपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।