आजबाट जेठ २ गतेसम्म विद्यालय बन्द, शुक्रबार पनि अब पूरा समय पठनपाठन हुने


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
आजबाट जेठ २ गतेसम्म विद्यालय बन्द, शुक्रबार पनि अब पूरा समय  पठनपाठन हुने
काठमाडौं। यहि स्थानीय तहको  निर्वाचनका लागि देशैभरका विद्यालयहरू आजबाट ६ दिनसम्म बन्द हुने भएका छन्। निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले ६ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको छ ।

त्यस्तै, अब जेठ १ गतेबाट आइतबार पनि सार्वजनिक बिदा हुने भएकाले विद्यालयहरूमा शुक्रबार पूरा समय  पठनपाठन हुने भएको छ।शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय भएको छ।

शिक्षा मन्त्रालयले यो निर्णय कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाई सानोठिमीलाई परिपत्र समेत गरेको छ।