आन्तरिक प्रतिस्पर्धाबाट त्रिविका करार शिक्षकहरुलाई स्थायी नियुक्ति दिइने


खबरस्टोरी संवाददाता
१५ मंसिर २०७८, बुधबार
आन्तरिक प्रतिस्पर्धाबाट त्रिविका करार शिक्षकहरुलाई स्थायी नियुक्ति दिइने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पौडेलले करार शिक्षकहरुको लागि आन्तिरक प्रतिस्पर्धा गराइने बताएका हुन्। उनले भने, ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेहरुको लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु।’

विश्वविद्यालयका सहकुलपति पौडेलले गुणस्तरीय शिक्षाका स्थापित मान्यतालाई आत्मसात् गर्दै विश्वविद्यालयमा कार्यरत आंशिक तथा अन्य शिक्षक तथा कर्मचारीहरुको सेवाका शर्त र निवृत्तिभरणको सुविधाको सुनिश्चतता गर्ने प्रतिबद्धता जनाएका छन्। शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्ययोजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिएका छन्।