चार्टर्ड एकाउन्टेन्ट्स सातौं संशोधन नियमावलीको विरोधमा


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०८२, मंगलवार
चार्टर्ड एकाउन्टेन्ट्स सातौं संशोधन नियमावलीको विरोधमा

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले नेपाल सरकारले हालै जारी गरेको ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौं संशोधन) नियमहरू, २०८२’ प्रति आपत्ति जनाएको छ । 

संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संशोधित नियमावलीले चार्टर्ड एकाउण्टेन्ट्स (सीए)को योग्यता र पेशागत गरिमालाई अवमूल्यन गरेको भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव प्रदीप अर्यालले अन्तर्राष्ट्रिय मान्यताअनुसार चार्टर्ड एकाउण्टेन्सीलाई स्नातकोत्तर सरहको उच्च बौद्धिक योग्यता मानिने भएपनि संशोधित नियमावलीमा सहायक योग्यताका रूपमा सीमित गरिएको गुनासो गरे । उनले सीएलाई स्नातक वा स्नातकोत्तरभन्दा तल्लो श्रेणीमा वर्गीकरण गर्नु निन्दनीय र अव्यवहारिक भएको भन्दै तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराए ।

राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका पदका लागि सीए उत्तिर्ण जनशक्तिलाई पुनः अन्य विषयमा स्नातक वा स्नातकोत्तर गर्नुपर्ने बाध्यात्मक व्यवस्था नियमावलीमा गरिएको भन्दै तत्काल संशोधन गर्न समेत उनले माग गरेका छन् । 

‘विभेदकारी’ सोंचले स्वदेशमा रहेका उच्च दक्ष जनशक्तिलाई हतोत्साही बनाउने, मनोबल घटाउने र थप जनशक्ति विदेश पलायन हुन बाध्य पार्ने अर्यालले गुनासो गरे । यसले दीर्घकालीन रूपमा राष्ट्रको आर्थिक विकासमा गम्भीर असर पार्ने संघको भनाइ छ ।

चार्टर्ड एकाउण्टेन्सी परीक्षा उत्तिर्ण गरेका सदस्यहरूलाई सम्बन्धित पदमा स्वतः योग्य मानिने व्यवस्था गर्न नियमावली तुरुन्त संशोधन गर्न संघले जोडदार माग गरेको छ ।