Media Network

नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुँदै


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । नेपालमै पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पदमकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरु आत्मनिर्भर र स्वाबलम्बी बन्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन सुरु गरिएको बताइन् ।

उनले सौन्दर्यकला सुरु गर्ने पहिलो विद्यालयको रुपमा स्थापित हुन पाउँदा निकै आभारी भएको बताउँदै यसमा विशेष सहयोग पु¥याउने सौन्दर्य कला संघलाई धन्यवाद ज्ञापन गरेकी छन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र अन्त्यत सफल भएको बताउँदै खुसी व्यक्त गरेकी छन् । “विद्यालय तथा विभिन्न निकायसँग पटक पटकको छलफल पछि अन्त्यत सौन्दर्यकला पाठ्यपुस्तकमा समावेश गरिएको छ, यो खुसीको विषय मात्र नभएर विशेष गरी छात्राहरुको लागि आफ्नो शिप प्रदर्शन गर्ने र आत्मनिर्भर हुने बाटो समेत हो,” उनले भनिन् ।

यस क्षेत्रमा दशकौं बिताएकी श्रेष्ठले सौन्दर्य कलामा प्रवेश गरेको सुरुवाती दिनहरुमा आफू समाज र आफन्तबाटै अपहेलित हुनुपरकाले आगामी दिनमा कुनै महिला र छात्रालाई आत्मनिर्भरताको बाटो रोज्दा समस्या नआओस् भन्ने हेतुले आफू यसलाई स्थापित गरेरै छोड्ने अठोटमा अघि बढेको बताइन् । 

अनुहारको सजावट मात्रै सौन्दर्य नभएको प्रष्ट पार्दै उनले भनिन “सौन्दर्य अनुहार सजावटको विषय मात्र नभएर यो ज्ञान हो, शास्त्र हो । सौन्दर्य अनुहार सजावट देखि लिएर स्वस्थ शरीर र व्यायमसँग पनि जोडिएको विषय हो ।”

नेपालमा सौन्दर्यकला स्थापित गर्ने प्रयास जारी रहेको र आगामी दिनहरुमा थप कार्यक्रम र अन्तक्रिया गर्दै यसलाई व्यवस्थित रुपमा अघि बढाउनेमा आफू लागी परिरहने उनले बताइन् ।

छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताए । उनले यस विषय सम्बन्धि बनाइने थप योजना र कार्यक्रममा पाठठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद