सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ


खबरस्टोरी संवाददाता
१५ माघ २०७८, शनिबार
सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् । 

काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए । उनले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । उनले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने जानकारी दिए । 

मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे । “अहिले पनि ६०/७० हजार विद्यार्थी पढ्न विदेश जाने गरेका छन्, अर्बाैं पैसा विदेश जान्छ,” उनले भने, “त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ, सङ्घीय कानुन बनेपछि केही प्रभावकारी हुन्छ ।” 

राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उहाँले धैर्य गर्न पनि सुझाव दिनुभयो । आजै स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको थियो ।