आहा रारा गोल्डकपः उपाधिका लागि शनिवार मनाङ र एपीएफ भिड्ने


खबरस्टोरी संवाददाता
१३ माघ २०७८, बिहीबार
आहा रारा गोल्डकपः उपाधिका लागि शनिवार मनाङ र एपीएफ भिड्ने

पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकप उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन् । 

विहीबार विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलयात्रा तय गरेको हो भने एपीएफ ‘ए’ डिभिजन लिग बिजेता मच्छिन्द्र क्लवलाई हराउँदै उपाधियात्रा तय गरेको हो । 

विहीबार मनाङ र आर्मीबीच भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

मनाङले आहा रारा गोल्डकपको उपाधि ६ पटक जितेको छ भने ६ पटक उपविजेता बिनेको थियो । 

एपीएफ भने आहा रारा गोल्डकपमा १४ वर्षपछि उपाधिनजिक पुगेको हो । 

उपाधिका लागि शनिबार पोखरा रंगशालामा मनाङ र एपीएफ मैदान उत्रिनेछन् । 

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।