Media Network

आईपीएलः गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लियो


खबरस्टोरी संवाददाता

२ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नवप्रवेसी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले चौंथो जितसहित ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राती शीर्ष स्थानको राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात लिगको शीर्ष स्थानमा उक्लिएको हो । टस हारेर प्रारम्भिक ब्याटिङको निम्तो पाएको गुजरातले ४ विकेटको क्षतिमा १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

१ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ५५ रनमा समेटियो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ५४ रन जोडे भने शिम्रन हेटमायरले २९, रियान पराग १८, जिमी निशम १७ र सञ्जु स्यामसनले ११ रन जोडे । राजस्थानका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

गुजरातका लोकी फर्गुसन र डेब्यू खेल खेलेका तीव्र गतिका बलर यश दयालले समान ३–३ विकेट तथा मोहम्मद शामी र हार्दिक पान्ड्याले १–१ विकेट लिएका थिए । 

पहिले ब्याटिङ सम्हालेको गुजरातका लागि हार्दिक पाण्डेले अर्धशतक पार गरे । गुजरातका लागि उनले ५२ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक नटआउट ८७ रन बनाए भने अभिनभ मनोहरले ४३ रनको योगदान गरे । चौथो विकेटका लागि पाण्डे र मनोहरले ८६ रनको साझेदारी गरेका थिए ।

यस्तै, गुजरातका डेविड मिलरले १४ बलमा ५ चौका र १ छक्कासहित नटआउट आक्रामक ३१ रनको योगदान गरे भने म्याथ्यु वेडले १२ रन तथा र सुभमन गिल १३ रन जोडे । राजस्थानका कुलदीप सेन, युजभेन्द्र चहल र रियान परागले समान १–१ विकेट लिएका थिए । 

गुजरातले अब आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ भने पराजित राजस्थानले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने तालिका छ ।

आईपीएलमा शुक्रबार सनराइजर्स हैदारावाद र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद