शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । उनले २७ बलमा ७ चौका र ४ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेलेका थिए । गुजरातका राशिद खानले ३ विकेट लिए ।
पन्जाब किंग्स ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ ।
गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्लीलाई १४ रनले पराजित गरेको थियो । गुजरातले अव सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।
यस्तै, पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको पन्जाबले दोस्रो खेलमा कोलकातासँग ६ विकेटले पराजित हुनुका साथै तेस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको थियो । पन्जाबले अब बुधबार मुम्बईसँग खेल्नेछ ।
बेंगलोर ३ खेलमा २ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैठौं स्थानमा छ । दिल्ली ३ खेलमा १ मा जित र २ मा हारसहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद अंकविहीन छन् ।
आइपीएलमा आज शनिबार दुई खेल हुँदैछन् । भारतीय समयअनुसार दिउँसो ३ ः ४५ बजे चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ भने बेलुका ७ ः ४५ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।