बैंग्लोरले सिजनको सुरुमा लगातार खेल जित्दै आएको थियो। तर, अहिले हार बेहोरिरहेको छ। योसँगै चेन्नईले हारबाट बच्न महेन्द्र सिंह धोनीको हातमा फेरि कमाण्ड सुम्पेको छ। यस्तो अवस्थामा आज रोचक भिडन्त हुने अनुमान गरिएको छ ।चेन्नईले कप्तान परिवर्तनपछि पुनः लड्ने साहस देखाएको छ। सनराइजर्स हैदरावादजस्तो बलियो बलिङ आक्रमण भएको टोलीलाई १३ रनले हराउँदै चेन्नईले प्लेअफ सम्भावना जीवित्तै राखेको छ। आइतबार भएको खेलमा चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९९ र डेभन कन्वेले ८५ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए।
आजको खेलमा पनि चेन्नईले आफ्नो शीर्ष क्रमबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ। दीपक चाहरको स्थानमा टिममा थपिएका बलर मुकेश चौधरी अन्ततः लयमा आएका छन्। उनले अन्तिम खेलमा ४ विकेट लिएर टोलीको जितमा ठूलो भूमिका खेलेका छन्। महेश ठेक्षानासँग मिलेर उनले फेरि एकपटक म्याच जित्ने बलिङ प्रयास देखाउन सक्छन्।यता, बैंग्लोरका लागि पावर प्लेमा तीव्र गतिमा रन बनाउन नसक्नु ठूलो समस्या हो। विराट कोहली लयमा फर्किए। शनिबार गुजरात टाइटन्ससँग भएको खेलमा कोहलीले ५३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए। यस सिजन खराब लयबाट गुज्रिएका कोहलीले टी२० मा सुस्त शैलीमा अर्धशतक पूरा गरेका थिए।कोहलीको यसअघिको प्रदर्शन सम्झन लायक थिएन। कोहली सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सविरुद्ध लगातार गोल्डेन डक हुन पुगेका थिए।
यता, कप्तान फाफ डू प्लेसीको प्रदर्शनमा निरन्तरताको कमी देखिएको छ। उनी गुजरातविरुद्धको खेलमा ४ बल खेल्दै शून्य रनमा आउट भएका थिए। यता, अन्तिममा आएका दिनेश कार्तिकले इनिङ्सलाई टच दिन सकेनन्।