मंगलबार राती भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल तयार गरेको थियो । राजस्थानका रियान परागले अविजित ५६ रनको अर्धशतकीय पारि खेले । कप्तान सन्जु सामसनले २७ रन, रविचन्द्र आश्विनले १७ तथा डार्यल मिचेलले १६ रन जोड्दा अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा बैंग्लोरका हर्षरंगा डि सिल्भा, मोहमद सिराज र जोश हजलउडले २–२ विकेट तथा हार्सल पटेलले १ विकेट लिए ।
१४५ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले ३ बल खेल्न बाँकी छँदै अलआउट भई मात्र ११५ रनमा समेटियो ।
बैंग्लोरका लागि फाप डु प्लेसिसले सबैभन्दा बढी २३ रन जोडे भने डे सिल्भाले १८ रन जोडे । राजस्थानका कुलदीप सेनले ४ विकेट लिए भने रविचन्द्र आश्विले ३ तथा प्रसिद्ध कृष्णले २ विकेट लिए ।
आईपीएलमा आज दोस्रो स्थानमा रहेको गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।