Media Network

अभिनेता पल फरार, प्रहरी खोजेको खोज्यै


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौं–  जर्बजस्ती करणीको आरोप लागेका फरार मोडल तथा अभिनेता पल शाह अझै पनि बेपत्ता नै छन् । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन। जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएको २४ घण्टा बितिसक्दा पनि उनी प्रहरीको फन्दामा परेका छैनन् ।

पललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी भइसकेको छ,तर पनि पक्राउ भने परेका छैनन् ।बुधबार पलविरुद्ध नाबालिक गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिउँसो करिब १२ बजेतिर जाहेरी दर्ता गराएका थिए। पीडित परिवार सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले पीडित परिवारलाई तनहुँ पठाएको हो। 

तनहुँको अदालतबाट बुधबार नै पक्राउ पुर्जी जारी भएपछि काठमाडौंमा रहेका पललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय तनहुँले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सहयोग मागेको छ। बुधबार साँझ नै अभिनेता पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’को काठमाडौंस्थित कीर्तिपुरमा प्रिमियर थियो। तर उनी उक्त प्रिमियरमा पनि पुगेनन्।

यतिबेला प्रहरीलाई फिल्मका हिरो पललाई रियलमा भेट्न सकस परेको देखिन्छ ।फरार अवस्थामै पलले बिहीबार बिहान केही गोप्य अडियोसहित आफूमाथि षड्यन्त्र भएको स्टाटस सार्वजनिक भएपछि खोजीमा जुटेको प्रहरीलाई झन आपत परेको छ ।आफूलाई साथी दुर्गेश थापा, ठूल्दाई सरोज ओली, भाइ कृष्ण जोशी र गायक सम्राट चौलागाईले षड्यन्त्र गरेर फसाएको आरोप पलले लगाएका छन्। 

उता गायक दुर्गेश थापा आफ्नो गल्ती छल्न पलले आफूहरूमाथि आरोप लगाएको बताएका छन्। ‘पलले धोका दिएको भन्दै एउटी नाबालिग किशोरी हाम्रो शरणमा आउँदा हामीले उहाँलाई सपोर्ट गरेका हौं। त्योभन्दा थप अरु केही नियत होइन, समय आएपछि बाँकी धेरै कुरा खुल्दै जाला,’ उनले भने। 


के छ त जाहेरीमा?

बुधबार प्रहरी कार्यालयमा पीडित किशोरीले दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जर्बजस्ती करणी गरेको आरोप छ। 

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँसमेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

पीडितका बुबाले दिएको जाहेरीमा पलले २०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउँदा गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा ती किशोरीको संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि सवार थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिक बसेको कोठामा गएर ललाइफकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जर्बजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद