अमेरिकासँग नेपाल ३९ रनले पराजित


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
अमेरिकासँग नेपाल ३९ रनले पराजित
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा विहीबार विहान भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ७ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । 

यस्तै, सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिएका थिए ।

जितका लागि २४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै मात्र २०६ रनमा समेटियो । 

नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । 

यस्तै सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए । छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन÷तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए ।

अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो । नेपालले तेस्रो खेलमा ओमानमाथि सात विकेटको सानदार जित हासिल गरेको थियो । 

आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ । नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ ।