बसन्त चौधरी भारतको प्रतिष्ठित केएलएफ अवार्डबाट सम्मानित


खबरस्टोरी संवाददाता
२९ मंसिर २०७८, बुधबार
बसन्त चौधरी भारतको प्रतिष्ठित केएलएफ अवार्डबाट सम्मानित

काठमाडौँ। भारतको बहुचर्चित कलिङ लिटररी फेस्टिबलमा साहित्यकार वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’ को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो। 

वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दी भाषीमाझ निकै चर्चित छ। विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ। प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी, अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेस बुक्स, लाइफ स्टाइल, इमर्जिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिकलगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।

कलिंग लिटररी फेस्टिबल (केएलएफ) अन्तर्राष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सवसमेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरैमन्दिरहरुको सहरले चिनिने भुवनेश्वरमा आयोजना गर्ने गरिन्छ। यो वर्ष भुवनेश्वरको स्वस्ती प्रिमियम होटलमा आठौं कलिंग साहित्य महोत्सव आयोजना गरिएको हो।

स्वतन्त्र अवार्ड छनोट समितिबाट छनोट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो।