काठमाडौं । यूइएफए च्याम्पियन्स लिग फुटबलको गएरातीको खेलमा लिभरपुलले भिल्लारियललाई पराजित गरेको छ । च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियललाई २–० अन्तरले पराजित गरेको हो ।
बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे ।
घरेलु मैदानको सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने खेलको फाइनल नजिक छ । अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ । जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ ।
भिल्लारियलको बलियो डिफेन्सबीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन । खेलको ५३औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो ।
पहिलो गोल भएको दुई मिनेटपछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे ।