Media Network

ए डिभिजन लिग : आर्मी र पुलिस भिड्दै


खबरस्टोरी संवाददाता

६ मंसिर २०७८,सोमबार

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  हुनेछ ।

पहिलो खेल दिउँसो १ बजेपछि हुनेछ । उपाधि दावेदार दुवै टोली जित निकाल्दै लिगमा सुखद् सुरुआत गर्ने योजनामा मैदान उत्रनेछन् । गत सिजन दोस्रो स्थानमा चित्त बुझाएको आर्मी यसपाली च्याम्पियन बन्ने लक्ष्यमा रहँदा पुलिसलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।

भरत खवासको कप्तानीमा उत्रने आर्मीसँग जर्ज प्रिन्स कार्की, गौतम श्रेष्ठ, सुमन अर्याल, विकेश कुथु, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, दिनेश हेन्जन र विकास तामाङ लगायतको खेलाडीको साथ रहेको छ । चोटका कारण फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवास टोलीमा हुनेछैनन् ।

यता, चार पटकको लिग च्याम्पियन पुलिस पनि आर्मीलाई हराउँदै लिगमा सुखद् सुरुआत गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग जुमानु राई, भरत शाह, हेम तामाङ, नीरकुमार राई, सुमन लामा, तेज तामाङ, अजित भण्डारी, रवि पासवान, रविन श्रेष्ठ, सन्तोष हेमरुन, अञ्जन राई, बुद्ध बल तामाङ, रोशन खड्का र तीर्थबहादुर बस्नेतको साथ रहेको छ । गत सिजनको लिगमा आर्मीले ४–२ को जित निकालेको थियो । 

त्यस्तै दिनको दोस्रो खेलमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैछ । खेल दिउँसो ४ः४५ बजेपछि हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद