काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत १२ औं चरणको खेल शनिवारबाट सुरु हुने भएको छ ।
१२ औं चरणको खेलमा आज दुई खेल हुनेछ । आज मछिन्द्र क्लव र थ्रीस्टार तथा फ्रेन्ड्स र च्यासलबीच खेल हुने छ । खेल तालिकाको पुछारमा रहेका फ्रेन्ड्स र च्यासलको खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ भने मछिन्द्र र थ्रीस्टारको खेल साँझ ५ बजे हुँदैछ ।
साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेकाले पनि यो चरणको खेलहरु रोमञ्चक हुने भएको छ ।
च्यासल युथ फ्रेन्ड्ससँग पराजित भएमा रेलिगेशन जोनमा पर्नेछ । रेलिगेशन जोन भन्दा एक स्थान माथि रहेको फ्रेण्ड्स जितसँगै क्लवलाई ए डिभिजनमा सुरक्षित गर्न चाहेको छ ।
मछिन्द्र र थ्री स्टारबीचको खेल पनि रोमाञ्चक हुनेछ । मछिन्द्र क्लव जारी लिगमा अपराजित रहँदै आएको छ ।
आजको खेलमा पनि थ्री स्टारलाई हराएर मछिन्द्र अपराजित यात्रा कायम राख्न चाहेको छ । थ्री स्टारले मछिन्द्रलाई हराउन सकेमा भने शीर्ष दुईमा उक्लिने छ ।