एन्फा र एनएसएल सम्झौता प्रक्रिया विपरितः सम्झौता रद्द


खबरस्टोरी संवाददाता
२५ असार २०७९, शनिबार
एन्फा र एनएसएल सम्झौता प्रक्रिया विपरितः सम्झौता रद्द
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता प्रक्रिया विपरित भएको निश्कर्ष निकालिएको छ ।  एनएसएल आयोजना गर्न गरिएको सम्झौता प्रक्रिया विपरीत भएकोले रद्द गर्न सिफारिस गरिएको एन्फाले जनाएको छ । 

एन्फा पदाधिकारी र एनएसएललाई लिएर असन्तुष्ट चार ए डिभिजन क्लबबीच शुक्रबार भएको छलफलपछि एनएसएल आयोजना गर्न गरिएको सम्झौता प्रक्रिया विपरीत रहेकाले रद्द गर्न सिफारिस गर्ने निर्णय भएको हो ।

छलफलमा एन्फाकोतर्फबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, अन्य दुई उपाध्यक्ष, महासचिव र महिला सदस्य तथा चारवटा क्लबका प्रतिनिधि सहभागी थिए । 

कोभिड–१९ महामारीका बेला फुटबल गतिविधि नहुँदा एन्फाले निजी क्षेत्रसँग मिलेर २०७८ सालको सुरुमा पहिलो संस्करणको एनएसएल सफलतापूर्वक आयोजना गरेको थियो ।

तर, खेलाडी अक्सन गरेको विषयमा ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा २०७८ चैतदेखि हुने भनिएको दोस्रो संस्करण तोकिएको समयमा हुन सकेको छैन ।

ए डिभिजन क्लबहरुले आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीको अक्सन गरेको भन्दै विरोध गरेपछि एनएसएल र क्लबबीचको विवाद सुरु भएको हो ।