एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालले आज बहराइनसँग खेल्ने


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालले आज बहराइनसँग खेल्ने
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

नेपालले आफ्नो तेस्रो खेलमा बहराइनसँग खेल्न लागेको हो । नेपाल र बहराइनबीचको खेल मलेसियाको यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा ८ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले स्तब्ध पारेको थियो । नेपाल रहेको समूह ’बी’ मा नेपालसहित, हङकङ, कुवेत, भुटान र बहराइन छन् । अब नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

समूह ’ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । दुबै समूहका शीर्ष २–२ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् ।