Media Network

एसीसी महिला टी–२०ः नेपालको लगातार दोस्रो जित


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । किनरारा ओभलमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गर्यो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२ रनमा समेटियो । 

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले २७ बलमा चार चौकाको मद्दतमा नटआउट ३४ रनको योगदान गरिन् । 

त्यस्तै, इन्दु बर्माले ३३ बलको सामना गर्दा २ चौकाको मद्दतमा २८ रन जोडिन् । 

यस्तै, ज्योति पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रन तथा सीता राना मगर र काजल श्रेष्ठले समान ५÷५ रन जोडेका थिए । 

बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिइन् ।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित कुवेतको तालिकामा १ अंक छ ।

जारी एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । च्याम्पियनसिपअन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद