मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेतबीच नेपाली समय अनुसार १२ः४५ बजे खेल सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।
कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाबिहीन बनेको थियो । कुवेतविरुद्धको यसअघिको दुई भेटमा जित हासिल गरेको नेपाल आज पनि सहज जित निकाल्ने दाउमा छ ।
च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।