एसियन सेन्ट्रल जोन भलिबल: नेपाल फाइनलमा


खबरस्टोरी संवाददाता
११ पुष २०७८, आईतवार
एसियन सेन्ट्रल जोन भलिबल: नेपाल फाइनलमा

काठमाडाैँ । नेपालको महिला भलिबल टोली बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।  

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २५–२० अंक, दोस्रो सेटमा २५–२३ अंकले तथा तेस्रो सेटमा २५–१४ अंकले हराएको हो । नेपाल लिग चरणको १ खेल खेल्नु अगावै फाइनलमा प्रवेश गरेको हो । नेपालले लिगको अन्तिम खेल  किर्गिस्तानसँग खेल्ने ढाकामा रहेका नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए । 

पहिलो खेलमा पराजित भएको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना कायमै छ । उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउँनेछ । जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले चार खेलबाट ११ अंक जोडेको छ । श्रीलंका १० अंकसहित दोस्रो तथा उज्वेकिस्तान नौ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै किर्गिस्तानको ६ अंक छ । बङ्गलादेश र माल्दिभ्स अंकबिहीन अवस्थामा छन् ।