Media Network

इटालीमाथि जर्मनीको पाँच गोल, हंगेरीसँग इंग्ल्याण्ड पराजित


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । यूईएफए नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीविरुद्ध जर्मनीले पहिलो प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । इटालीसँगको खेलमा जर्मनी ५– २ गोल अन्तरले विजयी भएको हो ।  

सन् १९५७ पछि मोन्चेनग्लाडबाचमा भएको नेशन्स लिगमा इटालीविरुद्धको खेलमा पाँच गोल गर्ने जर्मनी पहिलो टोली बनेको छ ।

हान्सी फ्लिकको टोलीले ६९ मिनेटमा जोशुआ किमिच, इल्के गुन्डोगनको पेनाल्टी, थोमस मुलर र टिमो वेर्नरको दुई गोलमार्फत ५–० को अग्रता बनाएको थियो ।

१८ वर्षीय विल्फ्रेड गोन्टो इटालीका सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । 

यस्तै, यूईएफए नेशन्स लिग फुटवलको मंगलबार राती भएको खेलमा इंग्ल्याण्डले निराशजनक प्रदर्शन गरेको छ । खेलमा इंग्ल्याण्ड हंगेरीसँग ४–० गोल अन्तरले पराजित भयो ।

यो खेलले यस वर्षको अन्त्यमा हुने विश्वकप फुटवलको फार्ममा कमजोर सावित हुने देखिएको छ । 

हंगेरीका रोलान्ड सल्लईले पछाडिको पोस्टमा राम्रोसँग फिनिश गर्दै १६ औं मिनेटमा गोल गरे भने ७० मिनेटमा अर्को गोल गर्दै दोब्बर पारे । खेलको ८० औं मिनेटमा जेसोल्ट नेगीले तथा ८९ औं मिनेटमा डानियल गडाकले गोल गरेपछि हंगेरी ४–० ले विजयी भयो । इंग्ल्याण्डका जोन स्टोनेजले ८२ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । 

यस्तै, लिग अन्तर्गत मंगलबार राति नै भएको नेदरल्यान्डले वेल्सलाई ३–२ ले पराजित गरेको छ भने स्कोटल्याण्डले अर्मेनियालाई ४–१ ले पराजित गरेको छ । नेदरल्यान्डको जितमा नोआ लाङ, कोडी गाक्पो र मेम्पिस डिपाएले एक–एक गोल गरे । वेल्सका लागि ब्रेनन जानसन र गेराथ वेलले एक–एक गोल गरे । 

यसैगरी, गएरातीकै खेलमा बेल्जियमले पोल्याण्डलाई १–ले पराजित गरेको छ । बेल्जियमको जितमा मिच बातसुआयीले निर्णायक गोल गरे । 

लिगको मंगलबार रातीकै अर्को खेलमा बोस्निया हर्जगोविनाले फिनल्याण्डलाई ३–२ ले हराएको छ ।  

नेदरल्यान्ड १० अंकसहित शीर्ष स्थानमा छ । ७ अंकको बेल्जियम दोस्रो स्थानमा रहँदा पोल्यान्ड ४ अंकसहित तेस्रो र १ अंकको वेल्स पुछारमा छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद