कामना सम्मिलित पुलिस सेमिफाइनलमा पराजित


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
कामना सम्मिलित पुलिस सेमिफाइनलमा पराजित
काठमाडौं।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित माल्दिभ्स पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनलबाट बाहिरिएको छ । 

सोमबार राति सेमिफाइनलमा पुलिस क्लब वाम्कोसँग ३–२ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि टिम अपराजित रहँदै शीर्ष चारमा स्थान बनाएको थियो । 

माल्दिभ्स पुलिसले पहिलो सेट १५–२५ र दोस्रो सेट २१–२५ ले गुमाएको थियो । यसपछि पुनरागमन गर्दै  तेस्रो सेट २५–२१ र  चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै सेट २–२ को बराबरीमा पार्‍याे । तर, निर्णायक सेट ५–१५ ले गुमाउँदा पहिलो हार बेहोर्दैै प्रतियोगिताबाट बाहिरियो । 

यस्तै, अर्को सेमिफाइनलमा क्लब इगलले विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भयो । 

प्रतियोगितामा नेपाली खेलाडी उषा भण्डारीसहित कामना माल्दिभ्स पुगेका थिए । उषा सम्मिलित धिवेही सिफाइन्ज क्लब भने समूह चरणबाट अगाडि बढ्न सकेन । दुबै खेलाडीले पहिलो पटक विदेशी लिग खेलेका हुन् ।