Media Network

करिश्माको राजनीतिमा ‘कमब्याक’


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

काठमाडौं । तत्कालिन एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा अभिनेतृ करिश्मा मानन्धरको कुनैबेला निकै हाइहाई थियो । 

वैचारिक धरातललाई तिलाञ्जली दिएर ‘अबको निकास, आर्थिक विकास’ भन्ने एजेण्डा बोकेर भट्टराई अघि बढेपछि साँच्चिकै नयाँ शक्ति होला भन्ने भ्रम करिश्मालाई पर्यो । 

भट्टराईको अभियानमा करिश्मादेखि अभिनेता सरोज खनाल हुँदै अशोक शर्मासमेत पछि लागे । भट्टराईको अभियान २०७३ जेठ २९ गते काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति पार्टीमा परिणत भयो । नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि करिश्मा पनि गाउँगाउँ पुगिन् । 

चलचित्र क्षेत्रमा पनि उत्तिकै चर्चित करिश्मा कुनै बेला वक्षस्थलमा टाटु खोपेर पनि चर्चामा थिइन् । जब उनी राजनीतिमा प्रवेश गरिन्, आर्थिक विकासबाट मुलुकको मुहार फेर्न भर्न भन्दै रातो सारी पहिरिएर भट्टराईसँगै लामबद्ध भइन् ।  

वि.सं. २०७२ असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति अभियान थालेका भट्टराईलाई सेलिब्रिटीहरु मात्र होइन, उच्च पदमा पुगेका कर्मचारीले पनि साथ दिए । तर भट्टराईको नयाँ शक्तिले शैक्षिक योग्यताको मापन गर्न थाल्यो । त्यसपछि भने सात कक्षा पढेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी करिश्मालाई राजनीतिमा शैक्षिक योग्यताको अभाव खड्कियो । 

आफूलाई शैक्षिक योग्यताको अभाव खड्किएपछि औपचारिक अध्ययन अगाडि बढाउने योजनाका साथ ग्यालेक्सी पब्लिक स्कुलमा ८ कक्षामा भर्ना भइन् । त्यसपछि करिश्मा काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा ९ कक्षामा भर्ना हुँदै गर्दा एमाले सांसद शान्ता चौधरीले पनि औपचारिक अध्ययन अघि बढाएको चर्चा चुलियो । 

चौतर्फी चर्चासँगै आलोचना भइरहँदा पनि पढाइलाई निरन्तर अघि बढाएकी करिश्माले २०७५ सालमा एसईई परीक्षा पनि पास गरिन् । तर नयाँ शक्तिको राजनीतिक परीक्षा भने करिश्माले पास गर्न सकिनन् । 

भट्टराईले मधेस केन्द्रित राजनीतिक दल संघीय समाजवादी फोरममा नयाँ शक्तिलाई बिलय गराए । त्यतिबेलासम्म करिश्माको राजनीति पनि नयाँ शक्तिबाट बिलय भइसकेको थियो । 

राजनीतिबाट अलग भएको घोषणा गरेपछि पनि करिश्माको चाहना स्वतन्त्र रुपमै भए पनि चुनावमा लड्ने थियो । तर उनले ०७४ सालको निर्वाचनमा त्यो आँट गरिनन् । 

आफू भन्दापछि राजनीतिमा जोडिएकी कोमल ओलीलाई एमालेले राष्ट्रियसभामा प्रवेश गरायो । करिश्मालाई राजनीतिमा डोर्याएका भट्टराई पछिल्लो समय केपी ओलीका सबैभन्दा कट्टर आलोचक बने । ओलीलाई ‘प्रतिगमन’ भन्दै भट्टराई ओलीविरोधी गठबन्धनमा रहेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका थिए । 

तर भट्टराईबाटै राजनीतिमा बामे सर्न सिकेकी करिश्मा भने यतिबेला ओलीको गुणगानमा ब्यस्त छिन् । ओलीको साथ लागेर पुनः राजनीति गर्ने योजनाका साथ अघि बढेकी करिश्माले मंगलबार ओलीकै हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी छन् । स्थानीय तह चुनावको मुखमा आएर ओलीकै हातबाट टीका लगाएकी करिश्मालाई अबको ‘माननीय’ को चर्चा कलाकारहरुले पनि गर्न थालेका छन् । 

नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा औपचारिक रुपमा सात कक्षा मात्रै उत्तीर्ण गरेकी करिश्माले यतिबेला ‘प्लस टु’ सकेर स्नातक तहको अध्ययन अघि बढाइरहेकी छन् ।   


  


Share:
Reaction :
ताजा समाचार
खेलकुद