क्यानडासँग नेपाल ८३ रनले पराजित


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
क्यानडासँग नेपाल ८३ रनले पराजित
काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजय ब्यहोरेको छ । खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडासँग स्तब्ध बन्यो । 

बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।

नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन  बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले  ११ रन बनाए । 

रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए । 

यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे ।