काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा शनिवार भएको फाइनल खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएको मात्र ८६ रनको सामान्य सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रनको योगदान गरेका हुन् ।
यस्तै, डार्शी शर्टले १४ रन बनाए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १४ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाए । उनले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाएका हुन् । निरोशन डिक्वेलले ११ रनमा अविजित रहे । यस्तै, सन्दिप जोरा शून्यमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।
यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडे । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।
लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन तीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिएका थिए ।
जितसँगै लुम्बिनीले एक करोड १० लाख रुपैयाँ हात पारेको छ । लगातार उपविजेता बनेको सुदूरपश्चिमले भने ५१ लाखमा चित्त बुझाएको छ । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
रोहितले पाए कार उपहार
एनपीएल सिजन २ को उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोलीका कप्तान रोहित पौडेलले पाएका छन् ।उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जितेका हुन् । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।