Media Network

नेपाली चलचित्र क्षेत्रमा फरक स्टोरी


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । केही समययता नेपाली चलचित्र क्षेत्रमा फरक स्टोरीहरुको स्वाद दर्शकहरुले चाख्न पाएका छन् । नितान्त पुरानै ढर्राको कथावस्तुलाई समेटेर चलचित्र निर्माण हुने क्रम केही समययतादेखि बदलिएको छ । 

प्रेम प्रसंगलाई कथावस्तुमा जोडेर वियोगान्त वा संयोगान्त चलचित्र निर्माण गर्ने पुरानै शैली र परम्पराका चलचित्र अथवा सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण गरिने नेपाली चलचित्रका भिँडमा कृष्ण धाराबासीको उपन्यास ‘झोला’ देखापर्यो । 

यादव भट्टराईले निर्देशन गरेको चलचित्र झोलामा नेपालमा प्रचलित सती प्रथाको चित्रण गरिएको छ । श्रीमानको मृत्यु भएपछि श्रीमानसँगै पत्नी पनि चितामा जल्नुपर्ने प्रथा सती प्रथा हो । 

बृद्ध पति ब्यहोर्नुपर्ने र पतिको मृत्युसँगै पत्नी पनि जल्नुपर्ने कुप्रथा नेपालमा लामो समय चलिरह्यो । नेपालमा लामो समय रहेको सति प्रथा वि.सं. १९७७ साल असार २५ गते चन्द्र शमशेर जङ्गबहादुर राणाले अन्त्य गरेका थिए । 

सतिप्रथाको अन्त्य नभएको समयको कथावस्तुलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको चलचित्र झोलामा अभिनेत्री गरिमा पन्तले सतिको भूमिका निभाएकी थिइन् । सोही भूमिकाका कारण अभिनेत्री पन्तले सन् २०१४ मा सार्क चलचित्र महोत्सवमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि पाइन् ।

केही समयपछि अर्को एउटा फरक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘पशुपतिप्रसाद’ देखापर्यो । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र पशुपतिप्रसादमा खगेन्द्र लामिछाने पशुपतिप्रसाद नामको पात्रको रुपमा देखा परेका छन् । 

कथावस्तु पशुपतिप्रसादको वरिपरि घुमेको छ भने चलचित्रको छायाँकन पनि पाशपत क्षेत्रलाई नै बनाइएको छ । बाबुको ऋण तिर्न नसकेर सहर पसेको पशुपतिप्रसाद र पाशुपत क्षेत्रको आर्यघाटमा लास पोल्ने काम गरेका पशुपतिप्रसादको मितबाको चरित्र चित्रण गरिएको यो चलचित्रमा धार्मिक क्षेत्रमा हुने गुण्डागर्दीलाई पनि प्रतिकात्मक ढंगले प्रस्तुत गरिएको छ । 

बाबुआमाको ऋण तिर्नका लागि गरेको जीवन संघर्षको कथावस्तु मार्मिक र ठेट नेपाली भाषाशैलीमा चलचित्रमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । 

यहिबीचमा यहि साउन ३ गतेदेखि देशैभर प्रदर्शन भइरहेको छ, चलचित्र ‘चिसो मान्छे’ । दीपेन्द्र के खनालबाटै निर्देशित चलचित्र चिसो मान्छे नेपाली चलचित्रमा नितान्त फरक तर बाध्यात्मक परिस्थितिले विदेशिएका नेपालीहरुको मरणलाई कथावस्तुमा समेटिएको छ । 

वैदेशिक रोजगारीका क्रममा दैनिक २ हजार नेपाली विदेशिरहेका छन् । रोजीरोटीका लागि विदेशिएका छोराछोरी, श्रीमानश्रीमतिहरु कमाएर घर फर्किनेबेला बाकसमा मृत शरीर आउने गरेको हामीले दिनहुँ देखिरहेका हुन्छौं । 

त्यही वास्तविक घटनालाई समेटेर तयार पारिएको चलचित्र चिसो मान्छेमा कोरोना महामारीका कारण देशैभर लकडाउन भइरहेकाबेला विदेशबाट काठमाडौं आइपुगेको शव बोकेर बाजुरासम्म पुगेको विषयवस्तुलाई नै प्रस्तुत गरिएको छ । 

काठमाडौंदेखि बाजुरासम्मको शवयात्राका क्रममा भेटिएका तीन पात्रका उस्तैउस्तै बेदना र चित्कारलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको कथाको सार नै वैदेशिक रोजगारीका क्रममा विदेशिएकाहरुको चिसो अर्थात मृत शरीर हो । 

जसरी झोला चलचित्रमा अभिनेत्री पन्तको अभिनयलाई दमदार मानिएको छ, त्यस्तै दमदार पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्का चलचित्र चिसो मान्छेमा देखा परेकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद