Media Network

पीएम कप भलिबल : दोस्रो जितसहित पुलिस शीर्ष स्थानमा, एपीएफले आर्मीलाई हरायो


khabarstory

१६ चैत्र २०७७,सोमबार

नेपालगञ्जमा जारी सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको शनिकारको खेलमा पुलिस क्लबले दोस्रो जित निकाल्दा सशस्त्र प्रहरीको एपीएफ टिम आर्मी क्लबमाथि हावी भएको छ । 

प्रतियोगितामा एपीएफले त्रिभुवन आर्मी क्लब र पुलिसले लुम्बिनी युनाइटेडलाई हराउँदै अघि बढेका हुन् । पहिलो खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट आर्मीले २६–२४ ले जिते पनि त्यसपछिका तीन सेट लगातार पराजय ब्यहोर्नुपर्‍यो । एपीएफले २५–२३, २५–१६ र २५–२३ मा आर्मीलाई हराएको थियो । 

सो खेलमा एपीएफकी निरुता ठगुन्ना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई अन्तर्राष्ट्रिय रेफ्री अजित शर्मा र वेस्टर्न अस्पतालका निर्देशक राहुल थापाले पुरस्कृत गरे ।

दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गरेको छ । पुलिसको यो दोस्रो जीत हो । जीतसँगै पुलिस लिगको शीर्षस्थानमा पुगेको छ । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–१४ को सोझो सेटमा हराएको हो । डिफेन्डिङ च्याम्पियन पुलिसको अगाडि लुम्बिनी कमजोर सावित भयो ।  

सो खेलमा पुलिसकी उषा भण्डारी प्लेयर अफ द म्याच भइन् । उनलाई नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामी र इन्टरनेट प्रदायक कम्पनी भायोनेटका शाखा प्रमुख भानु रेग्मीले पुरस्कृत गरे ।

लुम्बिनीका प्रशिक्षक भीम डाँगीले सेट अभ्यास बिना नै आए पनि प्रतियोगितामा खेलाडीले राम्रो खेल प्रदर्शन गरेकोमा सन्तोष व्यक्त गरेका छन् । लुम्बिनीमा रुपन्देही, दाङ र बाँकेका स्थानीय खेलाडी छन् ।

RITZ

Shikhar Insurance

पुलिसका प्रशिक्षक रुपेश विष्टले लुम्बिनी अलि कमजोर टीम भएकाले नयाँ खेलाडीलाई मौका दिएको बताए । प्रतियोगितामा आइतबार लुम्बिनी युनाइटेड विरुद्ध एपीएफ तथा न्यू डायमण्डविरुद्ध आर्मीको खेल हुनेछ ।

 
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख, तेस्रो हुनेले १ लाख नगद प्राप्त गर्नेछन् । पीएम कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रो संस्करणमा एपीएफ, तेस्रो र चौथो संस्करणमा रेलवे टिम इन्डिया र छैटौँ संस्करणमा नेपाल पुलिस क्लबले च्याम्पियन ट्रफी उचालेका थिए । नेपाली भलिबलमा यो सर्वाधिक धनराशिको पुरस्कार भएको प्रतियोगिता हो । 

 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७, १८:३६:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद