पशुपतिनाथ दर्शनपछि अनुपम खेरले भने – ‘यहाँ आउँदा उर्जा मिल्छ’


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
पशुपतिनाथ दर्शनपछि अनुपम खेरले भने – ‘यहाँ आउँदा उर्जा मिल्छ’
काठमाडौं । बलिउडका अभिनेता अनुपम खेर यतिबेला काठमाडौमा छन् ।केही वर्षयता उनी नेपाल आउने क्रम बढेको छ ।२०७१ सालमा कोसेली स्कुलमा पढ्ने सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा उपस्थित हुन नेपाल आएका उनी गत वर्ष फिल्म ‘उचाईं’को छायांकनका लागि करीब ४० दिन लुक्ला क्षेत्रमा बसेका थिए ।

 उचाईं’को सुटिङका लागि नेपाल आउँदा उनले पशुपतिनाथमा पुगेर पूजाआजा गरेका थिए । त्यसबेला उनले एक भिडियोमार्फत् पशुपतिनाथमा दर्शन गर्ने सौभाग्य प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए । उनले एकपटक फेरि काठमाडौं आएर पशुपतिनाथको दर्शन गरेका छन् । बिहीवार उनले पशुपतिनाथको मूल गेटको अगाडि उभिएर बनाएको एक भिडियो इन्स्टाग्राममा राखेका छन् ।

 भिडियोमा अनुपम खेरले भनेका छन्, ‘आज एकपटक फेरि मलाई काठमाडौंमा रहेको भगवान् पशुपतीनाथको मन्दिरमा प्राथना गर्ने अवसर प्राप्त भयो । यो मन्दिर र यहाँको शिवलिङ्ग हजारौं वर्षदेखि छ । यहाँ आउन पाउँदा मनलाई शान्ति त मिल्छ नै, उर्जा पनि प्राप्त हुन्छ । मानिसहरुको भीडभीड, पूजाआजा, जय भोलेनाथ, हर हर महादेव भनेको सुन्दा मनलाई निकै शान्ति मिल्छ ।’ 

 एक कार्यक्रममा सहभागी हुनका लागि बुधवार काठमाडौं ओर्लिएका उनले बिहीवार विहानै पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।